काठमाडौं– आइसिसी क्रिकेट विश्वकप सुपर लिगअन्तर्गत आयरल्यान्डसँगको एकदिवसीय सिरिजमा घरेलु टोली इंग्ल्यान्डले जित हात पारेको छ। बिहीबार राति सम्पन्न सिरिजको पहिलो खेलमा इंग्ल्यान्डले आयरल्यान्डलाई ६ विकेटले पराजित गरेको हो।

१७३ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यान्डले २७.५ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍याे। इंग्ल्यान्डको जितमा साम बिलिङ्सले अर्धशतकीय पारी खेले। ५४ बलमा ११ चौका सहित अविजित उनले ६७ रन बनाए। त्यस्तै कप्तान इयोन मोर्गनले अविजित ३६ रन बनाउँदा जेम्स भिन्सले २५ र ज्यासन रोयले २४ रनको योगदान दिए। बलिङतर्फ आयरल्यान्डका क्राग योङले दुई विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयरल्यान्डले ४४.४ ओभरमा सबै विकेटको क्षतिमा १७२ रन मात्रै बनाउन सकेको थियो। आयरल्यान्डका लागि कर्टिस क्याम्फरले अविजित ५९ र एन्डी म्याकब्रानले ४० रन बनाएपनि अन्य खेलाडीले उच्च रन बनाउन सकेनन्। आयरल्यान्डलाई सस्तैमा समेट्ने क्रममा इंग्ल्यान्डका डेबिड विलीले ५ विकेट लिए।

एक खेलको १० अंक?साधारणतया क्रिकेटमा विजेता टिमले दुई अंक पाउँछन्। तर विश्वकप २०२३ को छनोटको रुपमा रहेको यो सुपर लिगमा भने एउटै खेलमा जित हात पार्ने टिमले १० अंक प्राप्त गर्छ।

यो आइसिसीले नै बनाएको नियम हो। तर, यो विश्वकपकै छनोटको रुपमा रहेको आइसिसी क्रिकेट विश्वकप लिग टु मा भने विजेता टिमले दुई अंक नै पाउने छन्। त्यस्तै, च्यालेन्ज लिगमा पनि विजेता टिमले दुई अंक नै पाउने छन्। यो नियम आइसिसीले केबल सुपर लिगको लागि मात्रै बनाएको हो।

सुपर लिगमा १२ टेष्ट मान्यता प्राप्त राष्ट्रसँगै नेदरल्यान्ड्स पनि छ। नेदरल्यान्ड्स २०१५ देखि २०१७ सम्म आयोजना भएको आइसिसी विश्व च्याम्पियनसिपको विजेता हुँदै सुपर लिगको लागि छनोट भएको हो।

सुपर लिगको यो पहिलो सिरिज हो। तीन खेलको एकदिवसीय सिरिजमा अझै आयरल्यान्ड र इंग्ल्यान्डले दुई खेल खेल्न बाँकी छ। दोस्रो खेल शनिबार हुँदैछ भने सिरिजको अन्तिम खेल ४ अगस्टमा हुँदैछ। कोरोना भाइरस (कोभिड–१९) को कारण स्थगित भएको क्रिकेट पुनः सुरु भएपछिको यो एकदिवसीय खेल पहिलो हो।


Like it? Share with your friends!

admin