एजेन्सी – इटालियन क्लब एटलान्टाका स्टार फरवार्ड जोसिप इलिचिचले चोटका कारण च्याम्पियन्स लिग अन्तर्गत फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनविरुद्ध खेल गुमाउने भएका छन् ।

एटलान्टाले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पीएसजीको सामना गर्दैछ । अगष्ट १२ मा हुने उक्त खेल पोर्चुगलमा हुने पक्का भइसकेको छ । जारी सिजन एटलान्टाको उत्कृष्ट प्रदर्शनमा प्रभाव जमाइरहेका इलिचिच उक्त खेलका लागि उपलब्ध नहुने प्रशिक्षक जियान पिएरो गास्पेरिनीले बताएका हुन् ।

इलिचिचले यस सिजन लिगमा १५ गोल तथा च्याम्पियन्स लिगमा ५ गोल गरेका छन् । उनले जुलाई ११ मा युभेन्टसविरुद्ध खेलेपछि मैदान फर्केका छैनन् । चोटका कारण पछिल्ला केहि खेल गुमाएका उनले क्वाटरफाइनल पनि गुमाउने प्रशिक्षक गास्पेरिनीले बताए ।

‘हामीले केहि महिना फरवार्ड डुभान जपाटाबिना खेल्नुपर्यो । अब इलिचिच पनि उपलब्ध नहुने खबर पाएको छु । उनीबिना हामीलाई निकै कठिन हुनेछ,’ गास्पेरिनीले भने, ‘उनको अनुपस्थितिमा पनि टोलीमा सन्तुलन ल्याउने प्रयास गरिरहेका छौं । हामीसँग फरक क्षमता र शैली भएका खेलाडी छन् । मारियो पासालीच, आलेहान्द्रो गोमेज, मालिनोभ्स्की लगायत खेलाडी हामीसंगक छन् ।’

‘जपाटा उपस्थित नहुँदा हामीले परिवर्तन गरेर अन्य क्षमता भएका खेलाडी प्रयोग गरेका थियौं । इलिचिचको हकमा भने त्यसो हुन कठिन छ । उनी टोलीको महत्त्वपूर्ण सदस्य थिए र मार्चसम्म उनले ठूलो प्रभाव छाडेका थिए,’ उनले थपे, ‘ इलिचिच नहुनु भनेको युभेन्टसले डिबाला, लाजिओले इम्मोबिले र इन्टरले रोमेलु लुकाकुको साथ् गुमाउनु जस्तो हो ।’


Like it? Share with your friends!

admin